नेपाली कांग्रेस पर्साको क्षेत्र नं. १ द्वारा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं कांग्रेस संस्थापक नेता विश्वेश्वरप्रसाद (बिपी) कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम वीरगञ्जस्थित सिद्धार्थ माध्यमिक विद्यालयमा आयोजना गरिएको हो ।
कार्यक्रममा मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। मन्त्री क्षेत्रीले विद्यालय परिसरमा आँपको बिरुवा रोप्दै वातावरण संरक्षणप्रति सबैले गम्भीर र दीर्घकालीन दृष्टिकोण अपनाउनुपर्ने धारणा व्यक्त गरे ।
“वृक्षहरू हाम्रा जीवनका आधार हुन्। तीले अक्सिजन, छायाँ, फलफूल र प्राकृतिक सौन्दर्य दिन्छन् । जलवायु परिवर्तन र जैविक विविधताको संकटको सन्दर्भमा वृक्षारोपण अस्तित्वसँग जोडिएको कार्य हो,” मन्त्री क्षेत्रीले भने ।
विशिष्ट अतिथि कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले बिपी कोइरालाले देखाएको समाजवादी मार्ग, सामाजिक न्याय र वातावरणीय सन्तुलनको सन्देशलाई पछिल्लो पुस्ताले आत्मसात् गर्नुपर्ने बताए। “वृक्षारोपण गरेर उहाँको स्मृतिमा वातावरण जोगाउने अभियान सानो भए पनि भावनात्मक र भावी पुस्ताका लागि महत्वपूर्ण छ,” कुर्मीले भने ।
कार्यक्रम नेपाली कांग्रेस क्षेत्र नं. १ का कार्यवाहक सभापति अनिल सिंहको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, वडा नं. ४ का अध्यक्ष जगत प्रसाद कानु, मुस्लिम संघ पर्साका अध्यक्ष हबिब मिया, कांग्रेस महाधिवेशन प्रतिनिधि प्रकाश उपाध्याय, नेविसंघ पर्साका अध्यक्ष रमेश यादव, कांग्रेसका जिल्ला सदस्य हुकुम सिंह, युवा नेता राकेश यादव, रोशन लामिछाने, रामनिवास यादव, देव प्रकाश पटेल, रुस्तम, लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण विकास ठाकुरले गरेका थिए। सहभागीहरूले बी.पी. कोइरालाको योगदानको स्मरण गर्दै वृक्षारोपणमार्फत वातावरण संरक्षणमा नागरिक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।