काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी विद्रोह इतिहासले प्रमाणित गरिसकेको दाबी गरेका छन् ।
बुधवार काठमाडौँमा आयोजित 'गणतन्त्र अगाडि र पछाडिको नेपाल: तुलनात्मक अध्ययन' पुस्तक विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादीको विद्रोहकै कारण अहिले मधेसी, दलित, जनजाति, महिला, तथा पिछडिएका वर्गले अधिकार प्राप्त गर्न सकेको जिकिर गरे ।
“हामीले गरेको विद्रोह इतिहासमा प्रमाणित भएको छ,” उनले भने, “मधेसी, दलित, महिला, जनजाति र अन्य समुदायले पाएको अधिकार माओवादीको विद्रोहकै उपलब्धि हो । त्यसैले गणतन्त्रप्रति सबैभन्दा बढी चिन्ता माओवादीलाई छ ।”
उनले संविधान कार्यान्वयनको प्रगति बारे गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको उल्लेख गर्दै आवश्यक परे संशोधनका सुझाव दिन अपिलसमेत गरे ।