लगातारको खडेरीका कारण सुक्खाग्रस्त बनेको मधेश क्षेत्रमा आज रातिबाट वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
सरकारले हिजोमात्रै मधेश प्रदेशका आठ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । त्यसको भोलिपल्टै वर्षाको सम्भावना देखिएसँगै त्यहाँका कृषक र सर्वसाधारणमा केही राहतको आशा जगाएको छ । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर भए पनि मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले आज रातिबाट कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने छ ।
त्यस्तै, कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । महाशाखाले आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहने जनाएको छ । ती प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको पनि महाशाखाले उल्लेख गरेको छ ।
साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले त्यस्ता क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध गरिएको छ ।
मौसममा आएको परिवर्तनसँगै सिंचाइ, जल आपूर्ति तथा कृषि गतिविधिमा केही सहजता आउने अपेक्षा गरिएको छ ।
भिडियाे सामाग्री