खडेरीका कारण खेतमा मोटरमार्फत पानी तान्ने क्रम बढिरहेका बेला रौतहटमा करेन्ट लागेर एक साताभित्र तीनजना किसानको ज्यान गएको छ ।
बुधबार मात्र दुई किसानको सिँचाइका क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार बिहान माधवनारायण नगरपालिका–४ बिसनपुर्वा मानपुरका ४० वर्षीय रामबाबु मुखियाको खेतमा सिँचाइ गर्न मोटर चलाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन कार्कीका अनुसार सिँचाइका लागि जडान गरिएको मोटरको तारबाट करेन्ट लाग्दा गम्भीर घाइते भएका मुखियाको उपचारका क्रममा प्रादेशिक अस्पताल, गौरमा मृत्यु भएको हो ।
त्यसैदिन कटहरीया नगरपालिका–२ जमुनिया टोलका ५२ वर्षीय मोक्तार देवानको पनि खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । उनलाई गम्भीर अवस्थामा गरुडास्थित ग्राण्डी अस्पताल लगिएको थियो, जहाँ उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसअघि गत असार ३१ गते मौलापुर नगरपालिका–८ सोनरनियाका १४ वर्षीय गोलु भन्ने नरेन्द्र पटेलको पनि खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो ।
खडेरीले बढायो जोखिम
यस वर्ष असिनसार महिनासम्म मधेसका अधिकांश जिल्लामा न्यून वर्षा भएको छ । त्यसैले किसानहरू सिँचाइका लागि विद्युतीय मोटरको भर पर्न बाध्य छन् । तर सुरक्षाको प्रवन्ध नहुँदा करेन्ट लाग्ने दुर्घटना बढ्न थालेको हो ।कृषकहरूले आफूखुसी मोटर जडान गर्ने, तार व्यवस्थापनमा लापरवाही हुने, र ओसिलो खेत मै नांगो तार प्रयोग हुने जस्ता कारणले करेन्ट लाग्ने घटनाहरू दोहोरिने गरेका छन् ।
भिडियाे सामाग्री