भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेका ४७ जना नेपाली महिलाहरूलाई नेपाल फर्काइएको छ ।
एनओसी (नो अब्जेक्सन सर्टिफिकेट) बिना अवैध रूपमा कुवेत जान लागेका ती महिलाहरूलाई दिल्लीस्थित नेपाली दूतावासको समन्वयमा नियन्त्रणमा लिएर स्थलमार्ग हुँदै बिहीबार राति रुपन्देही ल्याइएको हो । दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश मल्लसहितको टोलीले ती महिलाहरूलाई सुनौली नाका हुँदै रुपन्देही पुर्याएर स्थानीय प्रशासनको जिम्मा लगाएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) वासुदेव घिमिरेले जानकारी दिए ।
प्रजिअ घिमिरेका अनुसार महिलाहरूलाई हाल काठमाडौं ल्याउने प्रक्रिया अघि बढाइएको छ र प्रहरीको निगरानीमा राजधानी ल्याइँदैछ । यसबीच, गृहमन्त्री रमेश लेखकले यो घटनालाई गम्भीर रूपमा लिँदै अनुसन्धानलाई तीव्रता दिन निर्देशन दिएका छन् । गृहमन्त्रालयका प्रवक्ता अनुसार मन्त्री लेखकले मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई घटनाको विस्तृत छानबिन गरी संलग्न दोषीहरूलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएका छन् ।
गृहमन्त्रीले अवैध वैदेशिक रोजगारीका नाममा भइरहेको मानव तस्करीको शृंखलाबारे गहन अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको मन्त्रालयले जनाएको छ ।
हाल महिलाहरू काठमाडौँ ल्याउने प्रक्रियामा रहेको र प्रारम्भिक अनुसन्धानपछि उनीहरूलाई मानव बेचबिखन वा अवैध समन्वयमा कुवेत पठाउने एजेन्टहरूको खोजी तथा कारबाही गरिने बताइएको छ ।
भिडियाे सामाग्री