प्रधानमन्त्री केपी शर्मा ओली आज खडेरीको चपेटामा परेको मधेश प्रदेशको अवलोकन भ्रमणमा आँउदै छन् ।
उनी महोत्तरी र बारा जिल्लामा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओलीले आफैं आफ्नो सामाजिक सञ्जालमार्फत् भ्रमणको जानकारी दिएका छन् । उनले लेखेका छन्, “आज महोत्तरी र बारा जाँदै छु । तराई मधेशमा लागेको सुख्खाले साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन सकेको छैन ।
त्यहाँको वस्तुस्थिति हेरौं र स्थानीय किसानहरूका कुरा पनि सुनौं भन्ने लागेको छ ।” प्रधानमन्त्रीले हिजो भने लगातारको कामको थकानका कारण बाहिरका कुनै कार्यक्रममा सहभागिता जनाउन नसकेको उल्लेख गरेका छन् । “दिनरात नै लगातार कामको चापका कारण थकित थिएँ,” उनले लेखेका छन्, “हिजो बाहिरका कुनै कार्यक्रममा सहभागी भइनँ, तर आज भने मधेश जाँदै छु ।”
मधेशमा लामो समयदेखि वर्षा नहुँदा खडेरीको स्थिति गम्भीर बनेको छ । पानीको अभावले धान रोपाइँ ठप्प छ भने रोपिएका खेत पनि चिरा परेका छन् । इनार र ट्युबेलहरू सुक्दा सिंचाइ संकटमा परेको छ । यसले मधेशको कृषि उत्पादनमा गम्भीर असर पर्ने चिन्ता बढेको छ ।
तराई-मधेश क्षेत्रलाई नेपालको अन्न भण्डार मानिन्छ। तर, मनसुन भित्रिएको डेढ महिनासम्म पनि पर्याप्त वर्षा नभएपछि सरकार सक्रिय भएको छ । यसैबीच, साउन ७ गते बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मधेश प्रदेशका आठ जिल्लालाई आगामी तीन महिनाका लागि “विपद् संकटग्रस्त क्षेत्र” घोषणा गरिसकेको छ ।
प्रधानमन्त्रीको भ्रमणलाई सोही सन्दर्भमा विशेष महत्वका साथ हेरिएको छ ।
भिडियाे सामाग्री