पर्सा । खानेपानीमन्त्री प्रदीप यादवले मधेस प्रदेशका आठ जिल्लामा बढ्दो जलसंकट समाधानका लागि सबै क्षेत्रको हातेमालो र साझा जिम्मेवारी आवश्यक रहेको बताएका छन् ।
पर्साको ठोरी गाउँपालिका–४ मा निर्माण सम्पन्न भएको ‘निर्मल बस्ती खानेपानी आयोजना’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले तराई–मधेशका जिल्लाहरू हालसम्मकै गम्भीर जलसंकटको सामना गरिरहेको बताए ।
“तराई–मधेशका जिल्लाहरूमा खानेपानीको गम्भीर संकट उत्पन्न भएको छ,” मन्त्री यादवले भने, “अब सहानुभूति हैन, साझा जिम्मेवारी आवश्यक छ । खानेपानी संकट मधेस प्रदेशको मात्रै समस्या होइन, यो हाम्रो साझा चुनौती हो। यसको समाधानका लागि सबैले हातेमालो गर्ने बेला आएको छ ।”
उनले खानेपानी मन्त्रालय नागरिकको मौलिक अधिकारको रूपमा स्वच्छ र सुरक्षित खानेपानी सुनिश्चित गर्न विकट परिस्थितिमा पनि क्रियाशील रहेको बताए । “विकराल समयमा पनि मन्त्रालय नागरिकसँगै खटिएको छ,” मन्त्री यादवको भनाइ थियो ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकायका पदाधिकारी तथा नागरिकहरूको सहभागिता रहेको थियो ।