महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेस प्रदेशका सुख्खाग्रस्त क्षेत्रहरूको स्थलगत अवलोकन गरेका छन् । उनले विशेषगरी बारा र महोत्तरी जिल्लामा खडेरीले पारेको प्रभावको प्रत्यक्ष निरीक्षण गरेका हुन् ।
देशभर मनसुनी वायुको प्रभाव कमजोर हुँदा पर्याप्त वर्षा नहुँदा तराई क्षेत्रमा खडेरीको समस्या चुलिएको छ । विज्ञहरूका अनुसार मधेसमा हालसम्म ४० प्रतिशतभन्दा कम रोपाइँ मात्र सम्पन्न भएको छ, जसले आगामी धान उत्पादनमा गम्भीर असर पार्ने अनुमान गरिएको छ ।
स्थिति गम्भीर भएपछि सरकारले केही दिनअघि नै मधेस प्रदेशलाई "विपद् संकटग्रस्त क्षेत्र" घोषणा गरिसकेको छ ।
प्रधानमन्त्री ओलीको आजकै भ्रमण तालिकाअनुसार दिउँसो १:४० बजे जनकपुर–कुर्था–सम्सी सडकखण्डको रौजा स्थित रातुखोला पुलको उद्घाटन कार्यक्रम रहेको छ । त्यसपछि उनी दिउँसो २ बजे बाराको परवानीपुर गाउँपालिकामा नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री आजै दिउँसो ३ बजे काठमाडौं फर्कने कार्यतालिका रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।




