विभिन्न कारणवश इरानको जेलमा रहेका पाँच नेपाली नागरिक स्वदेश फर्किएका छन् ।
तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत तथा अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (IOM) को सहकार्यमा ती नेपाली नागरिकलाई स्वदेश फर्काइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
इरानी अदालतले उनीहरूलाई थुनामुक्त गर्ने आदेश दिएपछि नेपाल फिर्ती प्रक्रिया सुरु गरिएको हो ।
यसअघि पनि भारत सरकारको सहयोगमा भारतीय नागरिकलाई उद्धार गर्न गएको विमानमार्फत तीन चरणमा नौ जना नेपालीलाई इरानबाट उद्धार गरी स्वदेश ल्याइएको मन्त्रालयले जानकारी दिएको छ ।
इजरायल र इरानबीच २०८२ साल असार १ गते (१३ जुन २०२५) देखि सुरु भएको द्वन्द्व असार ११ गते (२३ जुन २०२५) मा युद्धविराममा पुगेपछि शान्तिसुरक्षाको अवस्था सहज बन्दै गएको छ । सोही अवसरमा बाँकी नेपालीलाई पनि उद्धार गर्न सकिएको मन्त्रालयले जनाएको छ ।
सरकारले नेपाली नागरिकको उद्धार कार्यमा सहयोग पुर्याउने सबै पक्षप्रति आभार प्रकट गरेको छ ।