वीरगंज | साउन लागिसक्दा पनि मधेशमा खडेरी कायमै रहेपछि पर्साको मुस्लिम समुदायले पानीको लागि विशेष धार्मिक प्रार्थना ‘इस्तिस्का नमाज’ अदा गरेका छन् ।
वीरगंज महानगरपालिका–१७ स्थित अलौको इदगाहमा शनिबार बिहान स्थानीय मुस्लिम समुदायले वर्षाका लागि सामूहिक रूपमा नमाज पढेर अल्लाहसँग पानीको प्रार्थना गरेका हुन् ।
स्थानीय आशिक अन्सारीका अनुसार साउन महिनासम्म पनि मनसुनी वर्षा नभएकाले जनजीवन कष्टकर बनेको छ भने खेतीपातीसमेत प्रभावित भएको छ । त्यसैले पानीको हाहाकारबीच मुस्लिम धर्मावलम्बीहरूले अल्लाहसँग पानीका लागि विशेष नमाज अदा गरेका हुन् ।
सामूहिक प्रार्थनामा करिब ४ सय मुस्लिम पुरुष सहभागी थिए। यस्तै प्रकारको प्रार्थना सोही दिन पर्साको पोखरिया नगरपालिकामा पनि आयोजित गरिएको अन्सारीले जानकारी दिए ।
‘इस्तिस्का नमाज’ विशेष गरी लामो खडेरी परेको अवस्थामा आकासे पानीका लागि सामूहिक रूपमा गरिने धार्मिक प्रार्थना हो। लामो समयपछि पर्सा जिल्लामा यसरी सार्वजनिक रूपमा मुस्लिम समुदायद्वारा यस्तो विशेष प्रार्थना गरिएको हो ।
