संघीय संसद्को राष्ट्रियसभा बैठक आज अपराह्न १ः१५ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्दैछ । बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफावार छलफलका लागि निर्णय गरिने कार्यसूची तय गरिएको छ ।
आजै संसद्का पाँचवटा समितिका बैठकहरू पनि बस्ने कार्यक्रम तय भएको छ । ती समिताहरूमा अर्थ समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) रहेका छन् ।
अर्थ समितिको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँग सम्बन्धित विषयमा छलफल गरिनेछ । चालु आर्थिक वर्षको बजेटका लागि आयोगले दिएका सिफारिस र सुझाव, ती सिफारिस बजेटमा समावेश भए/नभएको स्थिति, आयोगले सामना गरेका चुनौतीहरू तथा समितिमा प्राप्त भएका उजुरीका बारेमा छलफल हुनेछ ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ मा परेका संशोधनहरूबारे संशोधनकर्तासँग छलफल गरिनेछ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘मिडिया काउन्सिल विधेयक, २०८०’ का सम्बन्धमा विज्ञहरूसँग अन्तरक्रिया गरिने कार्यक्रम छ ।
सार्वजनिक लेखा समितिको बैठकमा महालेखापरीक्षकको ६१औँ र ६२औँ वार्षिक प्रतिवेदनमाथि छलफल हुनेछ ।
राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको संयुक्त बैठकमा सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको हालको कार्यतालिका र सो कार्यान्वयन सुनिश्चित गर्न मन्त्रालयको तयारीबारे छलफल गरिनेछ ।