वीरगंज । पर्सा प्रहरीले ठूलो मात्रामा लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।
शनिबार साँझ करिब ६ः३० बजे पकहामैनपुर गाउँपालिका–१, धोरेस्थित सडकखण्डमा शंकास्पद अवस्थामा हिँडिरहेका एक युवकलाई नियन्त्रणमा लिई खानतलासी गर्दा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
धोरे प्रहरी चौकीबाट खटिएको नियमित गस्ती टोलीले भेडिअर्वाबाट धोरेतर्फ आइरहेका पकहामैनपुर गाउँपालिका–२, मधुबनी बस्ने २२ वर्षीय दिलिप कुमार सहनीलाई रोकेर सोधपुछ गर्दा शंकास्पद देखिएपछि खानतलासी गरिएको थियो ।
प्रहरीका अनुसार सहनीले बोकेको निलो झोलामा आलु र प्याजभित्र लुकाइ राखिएको अवस्थामा विभिन्न प्रकारका लागुऔषध फेला परेका थिए । झोलाबाट बुप्रेनोरफिन, डाइजापाम र प्रोमेथाजिन गरी १५०–१५० एम्पुल, कुल ४५० एम्पुल लागुऔषध बरामद गरिएको छ ।
पक्राउ परेका सहनीलाई इलाका प्रहरी कार्यालय पोखरिया पर्सामा राखी लागुऔषधसम्बन्धी कसूरमा अनुसन्धान सुरु गरिएको छ । जिल्ला अदालत पर्साबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।