जनकपुरधाम । पानी अभावको विरोधमा समाजवादी युवा संघले खाली गाग्री बोकेर जनकपुरधाममा प्रदर्शन गरेको छ ।
मधेशवासी नागरिकहरू पेयजल संकटमा पर्दा पनि प्रदेश सरकारले चासो नदेखाएको भन्दै युवा संघका कार्यकर्ताहरूले विरोधस्वरूप प्रदर्शन गरेका हुन् ।
जनक चोकदेखि सुरु भएको प्रदर्शन जिल्ला प्रशासन कार्यालय धनुषा हुँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म पुगेको थियो । प्रदर्शनका क्रममा युवाहरूले “भ्रष्ट सरकार पानी दे, किसानका लागि राहत प्याकेज घोषणा गर, किसान मार्न पाइँदैन, किसान विरोधी सरकार होसियार, चुरे दोहन बन्द गर” लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
प्रदर्शनपछि समाजवादी युवा संघले जिल्ला प्रशासन कार्यालयमार्फत चार बुँदे ज्ञापनपत्र तथा मुख्यमन्त्री कार्यालयमा आठ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
संघीय सरकारलाई पठाइएको ज्ञापनपत्रमा निम्न मागहरू उल्लेख छन्:
- भूमि विधेयक खारेज वा संशोधन गर्नुपर्ने
- तत्काल मल र बीउको व्यवस्था गर्नुपर्ने
- सुक्खाग्रस्त अवस्थाबाट बच्न दीर्घकालीन योजना ल्याउनुपर्ने
- किसान तथा कृषि क्षेत्रलाई समेट्ने गरी योजनाहरू ल्याइनु पर्ने ।
प्रदेश सरकारलाई बुझाइएको ज्ञापनपत्रमा निम्न अतिरिक्त मागहरू छन् :
- चुरे दोहन तुरुन्त रोक्नुपर्ने
- मल–खादको सहज आपूर्ति सुनिश्चित गर्नुपर्ने
- चालू आर्थिक वर्षको बजेटमा बनाइएको दुई वटा रेड बुकको छानबिन गर्नुपर्ने ।
समाजवादी युवा संघका नेताहरूका अनुसार सरकारको उदासीनता र जनताको जीवनसँग खेलवाडप्रति जवाफदेही बनाउने उद्देश्यले आन्दोलन गर्नुपरेको हो ।
भिडियाे सामाग्री