काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको मधेश भ्रमणप्रति कटाक्ष गर्दै हेलिकप्टरबाट निरीक्षण गरेर समस्याको समाधान नहुने टिप्पणी गरेकी छन् ।
सोमबार प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि संशोधन प्रस्तुत गर्दै सांसद श्रेष्ठले भनिन्, ‘‘खडेरी पर्यो भनेर हेलिकप्टरबाट हेर्न जाँदैमा मधेसमा पानी आउँदैन, चुरेको कुरा पनि जोडिन्छ ।’’
प्रधानमन्त्री ओलीले साउन ७ गते मधेस भ्रमण गरेका थिए । उक्त सन्दर्भ जोड्दै सांसद श्रेष्ठले समस्या समाधानका लागि चुनावी दृष्टिकोणभन्दा पर सोच्नुपर्नेमा जोड दिइन् । ‘‘निर्वाचनदेखि निर्वाचन सोचेर हुँदैन, मधेसमा भएको अभावलाई गहिरो रूपमा बुझ्न जरुरी छ,’’ उनले भनिन् ।
सांसद श्रेष्ठले भूमिसम्बन्धी ऐन संशोधनका क्रममा सार्वजनिक जग्गामाथि आँखा नलगाउन सरकारलाई सचेत गराइन् । साथै, वन तथा राष्ट्रिय निकुञ्जसँग सम्बन्धित दफा खारेज गर्नुपर्ने मागसमेत राखिन् ।