वीरगंज | खडेरीका कारण मारमा परेका मधेस प्रदेशका किसानलाई राहत दिन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले खेतमा स्यालो ट्युबवेल जडानका लागि प्रक्रिया सुरु गरेको छ ।
कृषि मन्त्री जनार्दन सिंह क्षेत्रीको अगुवाइमा प्रदेशका आठवटै जिल्लामा स्यालो ट्युबवेल जडान गर्नका लागि मन्त्रालयले निर्देशन जारी गरेको हो । खडेरीको असरले धान रोपाइँ हुन नसकेको र रोपिएको बालीसमेत सुक्न थालेपछि तत्काल राहतस्वरूप यो योजना अघि बढाइएको हो ।
मन्त्री क्षेत्रीको निर्देशनपछि पर्सा, बारा, रौतहटसहित मधेस प्रदेशका सबै जिल्लाका कृषि ज्ञान केन्द्रहरूले सूचना प्रकाशित गरी किसानहरूलाई स्यालो ट्युबवेलका लागि आवेदन दिन आह्वान गरेका छन् । मन्त्री क्षेत्रीका अनुसार किसानहरूबाट धमाधम आवेदन आइरहेको छ र अबको १० दिनभित्र ट्युबवेल जडानको काम सुरु हुनेछ ।
उनका अनुसार चालु आर्थिक वर्षमा स्यालो ट्युबवेलका लागि ६ करोड ५५ लाख रुपैयाँ र बाली प्रवर्द्धन शीर्षकबाट थप ११ करोड विनियोजन गरिएको छ । कुल १७ करोड ५५ लाख रुपैयाँ स्यालो ट्युबवेलमा खर्च हुनेछ ।
मन्त्री क्षेत्रीले भने, “प्रदेश सरकारले मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिसकेकाले थप राहतका लागि मुख्यमन्त्रीसँग समन्वय गरी थप बजेट माग गर्ने तयारी छ ।” गत वर्षमात्र मन्त्रालयबाट २ हजारभन्दा बढी स्यालो ट्युबवेल वितरण गरिएको जानकारी उनले दिएका छन् ।
