सर्लाही । सर्लाही क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सांसद रामप्रकाश चौधरी र मधेश प्रदेशसभा सदस्य उर्मिला सिंहलाई गाउँका महिलाहरूले मंगलबार एक अनौठो परम्पराअनुसार ‘पक्राउ’ गरी खेतमा हलो जोत्न लगाए । प्रहरीको भेषमा आएका महिलाहरूले जनप्रतिनिधिलाई घरबाटै समातेर खेत पुर्याएका थिए ।
स्थानीय थारू समुदायको परम्परा अनुसार लामो समयसम्म पानी नपरेपछि गाउँका महाजन, मुखिया वा जनप्रतिनिधिहरूलाई हली बनाइ हलो जोत्न लगाइन्छ । यसरी गरिएको पूजा–संस्कारले वर्षा गराउने विश्वास रहेको छ । ईश्वरपुर नगरपालिका–९ रामनगरका स्थानीयले यस्तै परम्परालाई निरन्तरता दिँदै जनप्रतिनिधिलाई खेतमा झारेर वर्षाका लागि रुढिगत विधि अपनाएका हुन् ।
सांसद चौधरीले भने, “महिलाहरूले हामीलाई गोरु बनेर हलो जोत्न लगाए । हलो तान्न हामी हली बन्यौं भने महिलाहरू नै गोरु बनेर जुवा नारिए । गोरुजस्तै लात्तीले हिर्काउँदै दौडाइ राखे ।”
स्थानीय परम्परा अनुसार यो जबर्जस्ती होइन, ग्रामीण समुदायको धार्मिक आस्था र सांस्कृतिक विधि हो । यसरी वर्षाका लागि विशेष संस्कार गरिन्छ जसले इन्द्रदेवता प्रसन्न हुने र वर्षा हुने विश्वास गरिन्छ ।
सुख्खा र रोपाइँ संकट
मधेश प्रदेशमा यसवर्ष मनसुन ढिलै सुरु भएको र पर्याप्त वर्षा नभएको कारण कृषकहरू मारमा परेका छन् । धान रोपाइँ प्रभावित भएको छ ।
सांसद चौधरीका अनुसार, “गएरातिको हल्का वर्षाले केही राहत पुगेको छ । तर यसअघि पर्याप्त पानी नपर्दा बीउ सुकिसकेको छ र रोपिएका धानका बोट चिराचिरा भएका छन् ।”
कृषि विभागका अनुसार साउन ११ गतेसम्मको तथ्याङ्कमा मधेश प्रदेशमा गत वर्षको तुलनामा ४०.१८ प्रतिशत कम रोपाइँ भएको छ ।
गत वर्ष यस अवधिमा ९२ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो भने यस वर्ष मात्र ५१.८२ प्रतिशतमा सीमित छ ।
कुल तीन लाख ७२ हजार ६४५ हेक्टरमा रोपाइँ हुनेमध्ये अहिले एक लाख ९३ हजार ११६ हेक्टर मात्र रोपाइँ भएको छ ।