रौतहट । रौतहटमा विद्युत् सुरक्षाको लापरवाहीका कारण करेन्ट लागेर ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । पछिल्ला घटनाहरूले चासो बढेपछि रौतहट जिल्ला प्रहरी कार्यालयले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन अपिल गरेको छ ।
प्रहरीका अनुसार, आर्थिक वर्ष २०८१/८२ मा मात्रै करेन्ट लागेर २३ जनाको ज्यान गएको थियो भने चालू आर्थिक वर्ष २०८२/८३ को असार ८ गतेसम्म थप ४ जनाको मृत्यु भइसकेको छ । यसरी दुई आर्थिक वर्षको अवधिमा विद्युत् दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या २७ पुगेको हो ।
पछिल्लो घटनामा मौलापुर नगरपालिका–७, ननकार पथराका नगरप्रवक्ता तथा आम जनता पार्टीका नेता चन्देश्वर बैठाको करेन्ट लागेर ज्यान गएको थियो ।
जिल्ला प्रहरी कार्यालयद्वारा जारी सूचनामा खेतबारी, घर, खोला, नाला वा भिजेको जमिनमा विद्युतीय उपकरण तथा मोटर चलाउँदा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।
साथै, बिजुली मर्मत तथा जडान कार्य केवल दक्ष इलेक्ट्रीशियनबाट मात्र गराउन, अस्थायी तारको प्रयोग नगर्न, चोरी विद्युत् (हुकिङ) नगर्न, तथा बालबालिकालाई जोखिमयुक्त उपकरण र स्थानबाट टाढा राख्न सुझाव दिइएको छ ।
खेतबारीमा मोटर जडान वा मर्मत गर्दा एक्लै नगई अर्का व्यक्तिलाई साथमा राख्नुपर्ने, साथै रातिको समयमा अँध्यारोमा तार तान्ने वा मोटर चलाउने जस्ता जोखिमपूर्ण गतिविधि नगर्न कडाइका साथ चेतावनी दिइएको छ ।