काठमाडौं । बलात्कारको आरोपमा पक्राउ परेका मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) विरुद्ध मुद्दा दायर गरिएको छ ।
२०७८ साउन ४ गते पक्राउ परेका झाविरुद्ध सरकारी वकिल कार्यालय काठमाडौंले अनुसन्धान प्रतिवेदनका आधारमा मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । उनलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अन्तर्गत दफा २१९ बमोजिम कारबाही अगाडि बढाइएको छ ।
प्रहरीको अनुसार, बलात्कारजस्तो गम्भीर आरोपमा २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सकिने कानुनी व्यवस्था भए पनि अहिराजको हकमा ९ दिनमै अनुसन्धान सम्पन्न गरी मुद्दा अदालतमा पेस गरिएको हो। अन्य सामान्य अभद्र व्यवहारका घटनामा समेत २५ दिनसम्म म्याद लिइने प्रचलन रहे पनि यो प्रकरणमा असाधारण रूपमा छिटो मुद्दा अगाडि बढाइएको हो ।
अहिराजले काठमाडौं नयाँ बानेश्वरस्थित कोठामा एक युवतीलाई २०८१ जेठ ४ गते बलात्कार गरेको आरोप छ । पीडितका अनुसार, कोठामा एक्लै बसेको समयमा पूर्व चिनजानका अहिराजले जबर्जस्ती बलात्कार गरेका थिए ।
उनमाथि मुलुकी फौजदारी संहिताको दफा २१९ को उपदफा २ खण्ड (ङ) अनुसार मुद्दा दायर गरिएको छ । सो खण्ड अनुसार १८ वर्ष वा सोभन्दा माथिका महिलालाई बलात्कार गरेमा सात वर्षदेखि १० वर्षसम्मको कैद सजायको व्यवस्था छ ।