काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपा सभापति रवि लामिछानेको थुनामा जानुमा सरकारको संलग्नता नरहेको स्पष्ट पारेका छन् ।
धनगढीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले लामिछानेमाथि सरकारले प्रतिशोध लिएको भनी गरिएको आरोपलाई निराधार भनेका हुन् ।
“विभिन्न किसिमका अपराध गर्यो अनि सरकारलाई गाली गर्यो, सरकार अदालत होइन । अदालतले थुन्छ कि छोड्छ, त्यो सरकारको हातमा हुँदैन,” प्रधानमन्त्री ओलीले भने। “ठगी गरेपछि अदालतले थुन्छ, गर्ने बेलामा आँखा नदेख्ने अनि पछि लौ प्रतिशोध भन्ने? के को प्रतिशोध ?”
संगठित सहकारी ठगी प्रकरणमा पूर्पक्षका लागि रुपन्देही कारागारमा रहेका रवि लामिछानेप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले आफूले कुनै प्रतिशोध नराखेको दाबी गरे । बरु आफूले नै उनलाई राजनीतिमा ल्याएको तर्क गरे ।
“मैले बनाएको हो गृहमन्त्री, मैले ल्याएको हो राजनीतिमा, के को प्रतिशोध?” उनले प्रस्ट पारे ।
रास्वपाले लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै चलाइरहेको हस्ताक्षर संकलन अभियानप्रति प्रधानमन्त्री ओलीले कटाक्ष गरे ।
“असभ्य ढंगले बोल्या छ, तथाकथित हस्ताक्षर क्याम्पेन। मलाई डर लाग्या छ, तीन करोडभन्दा माथि हस्ताक्षर क्याम्पेन गयो भने… सचेत गराउन चाहन्छु, त्यसभित्रै राख्नुहोला,” प्रधानमन्त्री ओलीले व्यंग्य गरे ।
उनले हस्ताक्षर अभियानमा किर्ते गरिएको आरोपसमेत लगाए । “दुई–चार जनालाई सही गरायो, घरमा गएर दनादन दनादन हस्ताक्षर क्याम्पेन। अहिले त कति हो लाख भन्छन्,” भन्दै ओलीले ठट्यौली प्रस्तुत गरे ।