काठमाडौँ | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै काममा नेतालाई दोष दिने प्रवृत्तिबाट बच्न आग्रह गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै सभापति देउवाले व्यापारी र उद्योगीहरूले आफैं मेहनत नगरी सारा दोष नेतामाथि थोपर्ने कार्य अनुचित भएको बताएका हुन् ।
उनले स्मरण गर्दै भने, “गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा नेपाली कांग्रेस सरकारमा रहँदा उदारीकरणको नीति ल्यायौं, त्यसबापत हामीले धेरै आलोचना सहनुपर्यो ।”
देउवाले सरकार व्यापार गर्ने वा उद्योग खोल्ने संस्था होइन भन्दै, यस्तो कार्यमा सहयोग गर्न सरकार सधैं तयार रहेको स्पष्ट पारे ।
“सरकारले उद्योग चलाउने होइन, सहयोग गर्ने हो। आफूले नगरेको कामको दोष सरकार वा नेतामाथि थोपार्नु गलत हो,” देउवाले भने ।
उनले निजी क्षेत्रको सक्रियता र लगानीले मात्र देशको आर्थिक विकास सम्भव हुने उल्लेख गर्दै सबै पक्षलाई जिम्मेवार बन्न पनि आग्रह गरे ।