सर्लाही । सर्लाहीको बागमती नगरपालिका–१२ स्थित भरत माछा पोखरी (भरत ताल) मा एक युवतीको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय कर्मैयाका अनुसार सोमबार दिउँसो करिब १२ बजे तालमा शव तैरिएको सूचना प्राप्त भएपछि प्रहरी नायब निरीक्षक (सई) सुभाष यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
प्रहरी टोलीले डुङ्गाको सहायताले शवलाई तालको पूर्व किनारमा ल्याएर सुरक्षित रूपमा राखेको जनाएको छ । हाल शवको पहिचान खुल्न नसकेको र ती युवती तराई मूलकी देखिने प्रहरीले बताएको छ । उनी निलो जिन्स पाइन्ट, हरियो कुर्ता लगाएकी थिइन् भने हातमा रातो बाला समेत देखिएको विवरणमा उल्लेख गरिएको छ ।
घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय हरिवनबाट प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीको नेतृत्वमा थप टोली खटाइएको छ ।
घटनास्थल ईप्रका कर्मैयाबाट करिब ३ किलोमिटर दक्षिणमा पर्छ । कानुनी प्रक्रिया पूरा गरेपछि शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत अनुसन्धान जारी रहेको र सबै पक्षमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।