सर्लाही | बढ्दो गर्मीमा घाममा बसेर कार्यरत ट्राफिक प्रहरीलाई सहज वातावरणमा काम गर्न सहयोग पुर्याउने उद्देश्यले नेपाल नेत्रज्योति संघ, मधेस प्रदेशमार्फत कालो चस्मा वितरण गरिएको छ ।
संघमार्फत ईश्वरपुरस्थित आँखा उपचार केन्द्रलाई प्राप्त ७०० थान चस्मा ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको हो । वितरण कार्यक्रम ईश्वरपुर नगरपालिकाका प्रमुख तथा आँखा उपचार केन्द्रका अध्यक्ष मनोज आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा संघका केन्द्रीय कोषाध्यक्ष चिजकुमार मास्के, मधेस प्रदेश सभापति रविन्द्रलाल चौधरी, बागमती प्रदेश सभापति ऋषिराम पौडेल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवाल, आठै जिल्लाका ट्राफिक प्रहरी प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति थियो ।
ईश्वरपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. पंकज कुमार साह, विभिन्न वडाका वडा अध्यक्षहरू पनि कार्यक्रममा सहभागी थिए । आँखा उपचार केन्द्र ईश्वरपुरका उपाध्यक्ष प्रकाश मैनालीले चश्मा वितरणसम्बन्धी जानकारी दिएका थिए ।
कार्यक्रममा बोल्दै सभापति रविन्द्रलाल चौधरीले भने, “पूर्व–पश्चिम राजमार्ग पुनर्निर्माणका कारण ट्राफिक प्रहरीलाई झन् कठिनाइ हुने भएकाले सम्पूर्ण मधेस प्रदेशभरका ट्राफिक प्रहरीलाई चस्मा वितरण गरिएको हो। यो कार्यक्रम आगामी वर्षहरूमा पनि निरन्तर सञ्चालन गरिनेछ ।”
प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले चश्माले ट्राफिक प्रहरीलाई कार्यक्षेत्रमा सहजता प्रदान गर्नुका साथै घाम, धूलो र आँखाका समस्याबाट जोगाउने उल्लेख गरे ।
ईश्वरपुर नगरप्रमुख मनोज आचार्यले नागरिकको जिउधनको सुरक्षामा दिनरात नभनी खटिने ट्राफिक प्रहरीप्रति स्थानीय सरकारको सहयोग आवश्यक रहेको बताए ।
कार्यक्रमको अवसरमा भरतपुर आँखा अस्पतालले ईश्वरपुर नगरपालिकालाई ३१ प्रकारका करिब ११ लाख रुपैयाँ बराबरका स्वास्थ्य सामग्री समेत हस्तान्तरण गरेको छ । त्यस्तै, कार्यक्रमकै अवसरमा संघका केन्द्रीय कोषाध्यक्ष चिजकुमार मास्के, मधेस प्रदेश सभापति रविन्द्रलाल चौधरी, बागमती प्रदेश सभापति ऋषिराम पौडेल र चार्टर्ड एकाउन्टेन्ट देव राज पन्तलाई नगरपालिकाले सम्मान गरेको स्वास्थ्य शाखा प्रमुख शुगेन्द्र महतोले जानकारी दिए ।