पर्सा जिल्ला वन डिभिजन कार्यालयको टोलीले अवैध रूपमा काठ चोरी गरिरहेका समूहमध्येको एक जनालाई पक्राउ गरेको छ भने बाँकी ६ जना फरार छन् ।
बेल्वा क्षेत्रबाट अवैध रूपमा काठ काट्ने र चोरी हुने गाेप्य सूचनाका आधारमा डिभिजन कार्यालयको टोलीले बुधबार राति करिब १:४५ बजे सो क्षेत्रमा छापा मारेको थियो । वन कार्यालयको कमान्डमा कार्यरत अस्मिन चौधरीको नेतृत्वमा रहेको टोलीले छापाको क्रममा सात जनाको समूहले अवैध रूपमा काठ संकलन गरिरहेको भेटिए पनि अध्याराेकाे फाइदा उठाउँदै अन्य फरार भएपनी प्रहरीले एक जनालाई नियन्त्रणमा लिन सफल भएको हो ।
डिभिजन वन कार्यालयका अनुसार घटनास्थलबाट केही काठका टुक्रा तथा अन्य सामग्री पनि बरामद गरिएको छ । पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान अघि बढाइएको छ भने फरार रहेका ६ जनाको खोजी कार्य तीव्र पारिएको छ ।
वन डिभिजनले अवैध काठ तस्करी नियन्त्रणका लागि निगरानी र गस्ती कार्यलाई अझ प्रभावकारी बनाउने जनाएको छ ।