जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले भूमिसम्बन्धी विधेयक फिर्ता नलिईए मधेशमा जनविद्रोह हुने चेतावनी दिएका छन् ।
बुधवार राजविराजमा आयोजित जसपा नेपाल, सप्तरीको एकताको प्रथम जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै अध्यक्ष यादवले वर्तमान सरकारले मधेश विरोधी भूमि विधेयक जबर्जस्ती लाद्न खोजे मधेशी जनता आफ्नो अस्तित्व र पहिचानको रक्षाका लागि विद्रोह गर्न बाध्य हुने बताएका हुन् ।
उनले वन विनास, चुरे उत्खनन् र पहाडका वासिन्दालाई मधेशमा अवैध रूपमा बसोवास गराउन खोजिएको भन्दै यो सिङ्गो षड्यन्त्र भएको आरोप लगाए। “सरकार भू–माफियाको पक्षमा काम गर्दैछ,” अध्यक्ष यादवले भने, “जनतालाई सचेत हुनुपर्छ ।”
सरकारको गलत नीतिका कारण मधेश मरूभूमिकरणतर्फ उन्मुख भएको उनले जिकिर गरे । “यहाँ पानीको हाहाकार छ, अन्नदाता संकटमा छन्,” उनले भने, “बजेट संशोधन गरेर तत्काल समस्या समाधान गर्न आवश्यक छ ।”
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका यादवले जबर्जस्ती लादिएको संविधानकै कारण संघीय लोकतान्त्रिक गणतन्त्र जस्तो शासन व्यवस्थासमेत बदनाम हुन पुगेको दाबी गरे । संविधानले देशको हित गर्न नसकेको भन्दै उनले जनताले रोजेको विकल्पतर्फ सोच्नुपर्ने बताए ।