जनकपुरधाम | लामो समयदेखि सुक्खाग्रस्त बनेको मधेश प्रदेशका विभिन्न जिल्लामा गत २४ घण्टामा भारी वर्षा भएको छ । वर्षाको कमीले धान रोपाइँ प्रभावित बनेका किसानलाई वर्षाले केही राहत दिएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बर्खायाम भए पनि मधेशमा पर्याप्त वर्षा नभएकाले सुक्खा संकट उत्पन्न भएको थियो । सरकारले संकटग्रस्त क्षेत्रसमेत घोषणा गरिसकेको थियो ।
तर, शुक्रबारदेखि सुरु भएको वर्षाका कारण केही क्षेत्रमा जमिन भिजेपछि रोपाइँ सम्भव हुने आशा पलाएको छ ।
कहाँ कति वर्षा ? शनिबार बिहान गरिएको मापन अनुसार:
- धनुषा (तुल्सी केन्द्र) : ६३.८ मिलिमिटर
- धनुषा (हर्दिनाथ) : ५१ मिलिमिटर
- रौतहट (गौर) : ४४.६ मिलिमिटर
- बारा (अमलेखगंज) : ४६.४ मिलिमिटर
- सर्लाही : ३७.६ मिलिमिटर
- महोत्तरी (गौशाला स्टेशन) : ३२.४ मिलिमिटर
सिरहा र सप्तरीमा भने कम मात्रामा वर्षा भएको छ । ती क्षेत्रमा रातिको समयमा पानी परे पनि बिहानदेखि रोकिएको विभागले जनाएको छ ।
अझै वर्षा हुने पूर्वानुमान
मौसमविद्हरूका अनुसार आइतबार पनि मधेश प्रदेशका धेरै जिल्लामा मध्यमदेखि भारी वर्षा हुन सक्ने सम्भावना छ ।
मनसुनको न्यून चापीय रेखा हाल नेपाल नजिक सरिरहेको हुँदा मनसुन थप सक्रिय हुने देखिएको हो ।
मौसम मापन अनुसार:
५० देखि १०० मिलिमिटर : भारी वर्षा
१० देखि ५० मिलिमिटर : मध्यम वर्षा