बारा | आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारले मधेसलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरे पनि राहत प्याकेजको कुनै योजना नल्याउनु सरकारको नालायकीपन भएको आरोप लगाएका छन् ।
बाराको कलैयास्थित उद्योग वाणिज्य संघको सभाहलमा आज आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष साहले मधेसमा परेको जलसंकटका कारण किसानदेखि सर्वसाधारणसम्म प्रभावित भइरहे पनि सरकारले केवल घोषणा गरेर पन्छिन खोजेको बताए ।
"मधेसमा जलसंकटले सर्वसाधारणदेखि किसानसम्म मर्कामा परेका छन् । सरकारले संकटग्रस्त क्षेत्र घोषणा गर्नु त ठिकै हो, तर के सरकारको काम केवल घोषणा गर्ने मात्र हो? पीडामा रहेका जनताका लागि राहत प्याकेज ल्याउनु पर्ने हो, तर सरकारले त्यो नगरेको स्पष्ट नालायकीपन हो," साहले भने ।
उनले सरकारसँग पीडित जनताका लागि तत्काल राहत प्याकेज ल्याउन र दीर्घकालीन रूपमा पानीको समस्या समाधानमा लाग्न आग्रह गरे ।
कार्यक्रम आजपा बारा अध्यक्ष राजकिशोर साहको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा आजपा केन्द्रीय कार्यालयका सदस्य अशोक लामा, त्रिभुवन साह, उमेश कुशवाहालगायतको विशेष सहभागिता थियो। सहभागी नेताहरूले जिल्लामा जलसंकटका कारण किसानदेखि सर्वसाधारणसम्म गम्भीर समस्यामा परेको उल्लेख गरे ।