वीरगंज | इन्टरनेट बजारमा सर्वाधिक ग्राहक संख्या भएका सेवा प्रदायकहरूमध्ये एकको सेवा शनिबार दिउँसो ४ बजेदेखि आइतबार बेलुकासम्म वीरगंजका विभिन्न स्थानमा अवरुद्ध रह्यो । एक दिनभन्दा बढी समयसम्म सेवा अवरुद्ध हुँदा उपभोक्ताहरूले गम्भीर असुविधा भोग्नुपरेको छ ।
सेवाग्राहीहरूका अनुसार, लगातार १५–२० पटकसम्म कल गर्दा पनि सम्बन्धित सेवा प्रदायकको कल सेन्टरले समस्या समाधानको कुनै ठोस समय दिन सकेन। अधिकांश अवस्थामा “१ घण्टाभित्र प्राविधिक पुग्छन्” भन्ने आश्वासन दिइए पनि, धेरै स्थानमा इन्टरनेट सेवा पुनः सुचारु हुन ढिलो भएको थियो ।
इन्टरनेट बजारमा वर्ल्डलिङ्कको दबदबा
नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्कअनुसार, २०८१ असार महिनासम्म देशभर ३२ लाख ४८ हजार ६७४ जना फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट ग्राहक रहेका छन्। तीमध्ये वर्ल्डलिङ्ककै ग्राहक संख्या सबैभन्दा बढी छ । कम्पनीले हाल १० लाखभन्दा बढी ग्राहक बनाएको छ भने यसको बजार हिस्सा ३१.१७ प्रतिशत पुगेको छ । तर, सेवा गुणस्तर र समस्याको समाधानमा कम्पनी ढिलोसुस्ती देखिएको सेवाग्राहीहरूको गुनासो छ ।
अन्य इन्टरनेट सेवा प्रदायकहरूको अवस्था
ग्राहक सङ्ख्याको हिसाबले दोस्रो स्थानमा रहेको डिश मिडिया नेटवर्क लिमिटेडका ३ लाख ६१ हजार ३९४ जना ग्राहक छन्, जसले ११.१२ प्रतिशत बजार हिस्सा ओगटेको छ।
तेस्रो स्थानमा रहेको नेपाल टेलिकम (एनटीसी) का ३ लाख ५४ हजार ४३८ जना ग्राहक छन्, जसको बजार हिस्सा १०.९१ प्रतिशत रहेको छ ।
चौथो स्थानमा रहेको भायानेट कम्युनिकेशन लिमिटेडका ३ लाख १९ हजार ग्राहक छन् भने पाँचौँ स्थानको सुबिसु केबलनेट लिमिटेडसँग २ लाख ९९ हजार ग्राहक रहेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
इन्टरनेट सेवा अहिलेको डिजिटल युगमा दैनिक जीवन, शिक्षा, सूचना, संचार र व्यवसायका लागि अत्यावश्यक भइसकेको अवस्थामा लगातार सेवा अवरुद्ध हुनु र गुनासोको समयमा समयमै सुनुवाइ नहुनु उपभोक्ता अधिकारविपरीत भएको सेवाग्राहीहरूको भनाइ छ ।