जनकपुरधाम | मधेस प्रदेशमा स्वास्थ्य बीमा कार्यक्रमप्रति नागरिकको चासो बढ्दै जाँदा यसमा आबद्ध हुनेको संख्या सात लाख ७९ हजार दुई सय ६५ पुगेको छ । यो संख्या हालसम्म प्रदेशमा कुल जनसंख्याको झण्डै १३ प्रतिशत बराबर हो ।
स्वास्थ्य बीमा बोर्डका मधेस प्रदेश संयोजक रामेन्द्रप्रसाद कुशवाहाका अनुसार साउन १६ गतेसम्म प्रदेशका आठै जिल्लाबाट नागरिकहरू स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । बोर्डले स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गरी कार्यक्रमलाई अझ प्रभावकारी बनाउने प्रयास गरिरहेको जनाएको छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार, मधेस प्रदेशको कुल जनसंख्या ६१ लाख १४ हजार ६ सय छ। तीमध्ये सात लाख ५० हजारभन्दा बढीले बीमा कार्यक्रम रोज्नु सकारात्मक संकेत हो ।
प्रदेश सरकारले सहिद परिवारलाई निःशुल्क बीमा प्रदान गर्दै आएको छ। आर्थिक वर्ष २०८०/८१ मा विनियोजित ४० लाख रुपैयाँबाट केही सहिद परिवारलाई बीमामा आबद्ध गरिएको भए पनि सबैलाई समावेश गर्न कठिनाइ रहेको संयोजक कुशवाहाले बताए । “केहीको ठेगाना नखुलेको, केहीको बसाइँसराइ भएको र केहीको पहिचान गर्न नसकिएको कारण पूर्ण समावेशीकरणमा चुनौती छ,” उनले भने ।
सरकारले जटिल प्रकृतिका क्यान्सर, मुटुरोग, डायलासिस, हेड इन्जुरी, स्पाइनल इन्जुरी जस्ता रोगमा प्रमाणको आधारमा अतिरिक्त एक लाख रुपैयाँको बीमा सुविधा थप गरेको छ । साथै, नियमित नवीकरण गर्ने सेवाग्राहीलाई भुक्तानी शुल्कमा सहुलियत दिने व्यवस्था पनि गरिएको छ ।
स्वास्थ्य बीमा कार्यक्रम मधेस प्रदेशमा २०७३ सालदेखि सुरु भएको हो भने २०७५ सालदेखि सबै जिल्लामा विस्तार गरिएको थियो । बीमा कार्यक्रममा नागरिक सहभागिता बढाउन प्रत्येक वडामा रहेका दर्ता सहयोगीहरूलाई घरदैलोमै पठाउने अभियान पनि सञ्चालनमा रहेको संयोजक कुशवाहाले जानकारी दिए ।