चुरे संरक्षण गर्न तथा सुक्खापीडित किसानहरूलाई राहत र क्षतिपूर्ति दिनुपर्ने मागसहित आज काठमाडौंमा प्रदर्शन गरिएको छ ।
‘चुरे तथा वन जंगल संरक्षण अभियान नेपाल’को अगुवाइमा चुरे संरक्षणकर्मीहरूले राजधानीमा प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरूले “चुरे वनजंगल संरक्षण गर, जीवन बाँच्न पानी देऊ” लगायतका नारासहितका प्लेकार्ड बोकेर टुँडिखेल वरिपरि परिक्रमा गरेका थिए ।
उनीहरूले चुरे दोहनका कारण तराई–मधेश क्षेत्रमा जलस्रोत सुक्दै गएको र त्यसबाट खानेपानी तथा सिँचाइको गम्भीर समस्या देखिएको जनाएका छन्। उनीहरूको भनाइमा, सुक्खाग्रस्त क्षेत्रमा सरकारले प्रस्ताव गरेका ५०० डिपबोरिङ दिगो समाधान होइन ।
प्रदर्शनमा सहभागीहरूले सुक्खाग्रस्त किसानहरूलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन, चुरे क्षेत्रको दोहन रोक्न, खोलाहरूमा चेकड्याम निर्माण गर्न, प्राकृतिक पोखरीको संरक्षण गर्न, साथै दोहनमा संलग्न व्यक्तिहरूलाई वन ऐन तथा कानुनअनुसार कडा कारबाही गर्न माग गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि ५०० वटा डिपबोरिङ निर्माण गर्ने घोषणा गरेका थिए। तर विज्ञ र संरक्षणकर्मीहरूले यो कदमले दीर्घकालीन समाधान नदिने भन्दै प्राकृतिक संरक्षणमा जोड दिनुपर्ने बताएका छन् ।