राष्ट्रिय परीक्षा बोर्डले आज (साउन २०) कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । यो वर्षको नतिजा अघिल्लो वर्षको तुलनामा करिब ९ प्रतिशतले सुधार भएको बोर्डले जनाएको छ ।
बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार, यो वर्ष ६१ दशमलव १७ प्रतिशत विद्यार्थीले ग्रेड (उत्तीर्ण) प्राप्त गरेका छन्। अघिल्लो वर्ष ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए ।
नियमिततर्फ परीक्षामा तीन लाख ९६ हजार ३४७ विद्यार्थी सहभागी भएका थिए । तीमध्ये दुई लाख ४२ हजार ४६५ जनाले ग्रेड प्राप्त गरेका छन् । यस्तै, आंशिकतर्फ एक लाख १४ हजार ६४० जनामध्ये ४१ हजार ८४० विद्यार्थी उत्तीर्ण भएका छन् ।
नियमिततर्फ ११ र आंशिकतर्फ ६ गरी १७ विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डले जानकारी दिएको छ । सबै विषयमा ग्रेड प्राप्त गर्ने विद्यार्थीको कुल संख्या दुई लाख ८४ हजार ३०५ रहेको छ ।
जीपीए विवरणः
- १३,५०२ जनाले ३.६१ देखि ४.०० सम्म
- ५५,८९६ जनाले ३.२१ देखि ३.६० सम्म
- ९४,२६८ जनाले २.८१ देखि ३.२० सम्म
- ६९,८१२ जनाले २.४१ देखि २.८० सम्म
- ८,९६४ जनाले २.०१ देखि २.४० सम्म
- २३ जनाले १.६१ देखि २.०० सम्मको जीपीए ल्याएका छन् ।
बोर्डले यस वर्षको परीक्षा वैशाख ११ गतेदेखि सञ्चालन गर्ने तय गरेको भए पनि नेपाल शिक्षक महासङ्घको आन्दोलनका कारण १० दिन ढिलो गरी वैशाख २१ गतेदेखि सुरु भएको थियो। परीक्षा जेठ २ गतेसम्म सञ्चालन भएको थियो । कुल पाँच लाख १० हजार ९८७ परीक्षार्थी सहभागी भएका थिए ।
शिक्षकको २९ दिने आन्दोलनका कारण परीक्षा ढिला भए पनि नतिजा भने अघिल्लो वर्षको तुलनामा मात्र एक दिन ढिलो सार्वजनिक गरिएको हो ।
मौका परीक्षाको सूचना:
बोर्डले दुई विषयमा नङ्ग्रेड (NG) पाएका वा बढीमा दुई विषयको परीक्षामा अनुपस्थित भएका विद्यार्थीका लागि भदौ २८ र २९ गते पूरक (मौका) परीक्षा सञ्चालन गर्ने जनाएको छ ।