सर्लाही | सर्लाहीको बलरा नगरपालिका–१, जब्दी टोलमा बुधबार राति दुई समूहबीच झडप भएको छ । झडपलाई नियन्त्रणमा लिन गएको प्रहरी टोलीमाथि पनि आक्रमण हुँदा प्रहरीसहित तीन जना सामान्य घाइते भएका छन् ।
रामनगर गाउँपालिका–१ खैर्वाका रोहित कुमार सहनी राति करिब ९:१५ बजे घर फर्कंदै गर्दा प्राथमिक विद्यालय अगाडि ५–७ जनाको समूहले उनलाई कुटपिट र लुटपाट गरेको खबर प्रहरीले पाएको थियो । घटनास्थलमा प्रहरी पुग्दा सोही घटनालाई लिएर दुई समूहबीच झडप भैरहेको भेटिएको थियो ।
इलाका प्रहरी कार्यालय बलराबाट खटिएको टोलीले झडप नियन्त्रणमा लिन खोज्दा सई गौरीशंकर साहसहित तीन जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिए ।
घाइतेहरूलाई तत्कालै उपचारका लागि अस्पताल लगिएको थियो र उनीहरू सबै सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् । अहिले घटनास्थलको अवस्था पूर्णरूपमा शान्त रहेको प्रहरीले जनाएको छ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।