रौतहट | लामो खडेरीपछि सक्रिय बनेको मनसुनले केही दिनका लागि रौतहटका किसानहरूलाई आशाको संचार गराए पनि त्यो आशा छिट्टै निराशामा बदलिएको छ । फतुवा विजयपुर नगरपालिका–५ अन्तर्गतको सन्तपुर दोस्तीया क्षेत्रमा वर्षापछि करिब ४० बिगाहा क्षेत्रफलको धानबाली डुबानमा परेको छ ।
स्थानीय किसानहरूले लामो समय कुर्दै रोपेको धान अब पानीले डुबानमा परेको छ । अमिर खान, नथुनी तलेवर, सेराज अन्सारी, नुराईन अन्सारी, आबिद अन्सारी, ताहिर लगायतका किसानहरू सबै प्रभावित भएका छन् ।
पीडित किसान अमिर खानका अनुसार, “पहिले बाटोमा राखिएको होम पाइपबाट पानी निकास हुँदै आएको थियो । तर अहिले त्यो मुहान बन्द भएपछि पानीको निकास रोकिएर खेतमा पानी जमेको हो ।”
कटहरिया–सन्तपुर–कलैया सडक खण्डको सन्तपुर चोकदेखि करिब २५० मिटर पश्चिमतर्फ, सडकको उत्तरतर्फ रहेका खेतहरूमा पानी जमेको छ । जल निकासको अभावले खेतबारी मात्र होइन, पूर्वतर्फका बस्तीहरूमा समेत पानी पस्न थालेको छ ।
“रातभर पानीको डरले न निद्रा लाग्यो, न त बिहान धान जोगाउने उपाय सोच्न सकियो,” एक स्थानीय बासिन्दाले भने । उनीहरूका अनुसार फेरि भारी वर्षा भएमा बस्तीमा पानी पस्ने सम्भावना अझ गम्भीर हुने देखिएको छ ।
यस सम्बन्धमा वडाध्यक्ष एजाज अहमदले समस्या समाधानका लागि तत्काल पहल थालिएको जानकारी दिएका छन् । उनका अनुसार विभिन्न राजनीतिक दल, समाजसेवी तथा बुद्धिजीवीहरूको सहभागितामा छलफल भइसकेको छ र आज सर्वदलीय बैठक बसेर ठोस निर्णय लिइनेछ।
रौतहटमा पछिल्लो समय देखिएको मौसमी असन्तुलनले कृषि प्रणालीमाथि गहिरो प्रभाव पारेको छ । खडेरीको सास्तीपछि मनसुनले राहत दिनुको सट्टा बाली डुबान र नष्ट हुने अवस्थाले किसानलाई दोहोरो संकटमा पारेको छ ।