जनकपुर | जनमत पार्टीले आफ्ना निलम्बित उपाध्यक्ष ई. दीपक कुमार साहलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको जनाएको छ । पार्टीको अनुशासन उल्लंघन, गुटगत गतिविधि र पार्टी नेतृत्वविरुद्ध उत्रिएको आरोपमा उनलाई कारबाही गरिएको हो ।
यसअघि, साहलाई गत चैत १४ गते ६ महिनाका लागि उपाध्यक्ष पदबाट निलम्बन गरिएको थियो । तर, सो अवधिमा पनि पार्टीको नाम, झण्डा र छापको अवैध प्रयोग गर्दै कार्यक्रम सञ्चालन गरेको जनमत पार्टीको आरोप छ ।
पार्टीले नेता साहसँग स्पष्टीकरण माग गरेकोमा चित्तबुझ्दो जवाफ नआएको र अनुशासन विपरीत गतिविधि दोहोरिएको उल्लेख गर्दै उनलाई पूर्ण रूपमा निष्कासन गरेको विज्ञप्तिमा उल्लेख छ ।
गुटगत गतिविधि र विधानविपरीत आचरणको आरोप
पार्टीका अनुसार साहले पार्टी फुटाउन गुटगत बैठकहरू सञ्चालन गर्दै हिँडेका, विधानविपरीत गतिविधिमा संलग्न भएको, र पार्टी अध्यक्ष सीके राउतविरुद्ध अभिव्यक्ति दिँदै हिँडेको बताइएको छ ।
अनुशासन समिति संयोजक नरेन्द्र प्रसाद चौधरी र सचिव अनिता कुमारी मण्डलले संयुक्त रूपमा हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, “पार्टीको सम्पूर्ण पदबाट निलम्बन भइसकेपछि पनि पार्टीको नाम, झण्डा, छाप आदिको अवैध प्रयोग गर्दै कार्यक्रम गरिरहेको हुँदा, अनुशासन उल्लंघनमा संलग्न ई. दीपक कुमार साहलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरी निष्कासन गरिएको छ।”
जनमत पार्टीले यो निर्णयसँगै संगठनभित्र अनुशासन कायम गर्ने संकेत दिएको विश्लेषण गरिएको छ ।