रौतहट | रौतहटको गुजरा नगरपालिकास्थित एनआइसी एशिया बैंक सिमरा भवानीपुर शाखाले सामाजिक सुरक्षा तथा बालपोषण भत्ता रकम वितरणमा ढिलाइ गरेपछि स्थानीय लाभग्राहीहरु आक्रोशित भएका छन् ।
गएको असार १२ गते गुजरा नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को चौथो किस्ताका रूपमा सामाजिक सुरक्षा र बालपोषण भत्ता रकम लाभग्राहीहरूको खातामा पठाए पनि बैंकले रकम वितरणमा अनावश्यक ढिलाइ गरेको छ। यसले गर्दा लाभग्राहीहरू जीविकोपार्जनमा समेत समस्या भोग्न बाध्य भएका छन् भनी नगरपालिका–८ का पचिया खातुनले बताउनुभयो ।
नगरपालिकाले रकम बैंकमा पठाएको भए पनि दैनिक रूपमा कहिले नगरपालिका त कहिले बैंक जानुपर्ने अवस्था आएको उहाँले गुनासो गर्नुभयो ।
स्थानीयको दबाबपछि बैंकले वितरण तालिका सार्वजनिक गरी आइतबारदेखि वितरण सुरु गरे पनि ८ नं वडा अन्तर्गत बालपोषण भत्ता भदौ १ देखि ६ गतेसम्म र सामाजिक सुरक्षा रकम भदौ १७ देखि २४ गतेसम्म वितरण हुने तालिका भएपछि सो वडाका लाभग्राहीहरू आक्रोशित भई आइतबार नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन् भनी वडा अध्यक्ष मोतिम मियाँ मन्सुरीले जानकारी दिनुभयो ।
तरकारी र औषधि किन्ने रकम अभाव भएको बेला बैंकले रकम वितरणमा ढिलाइ गरेको कारण थप पीडा थपिएको स्थानीय रहमद खातुनले गुनासो व्यक्त गर्नुभयो ।
असार १२ गते नै रकम बैंकमा पठाइए पनि सेवाग्राहीलाई रकम नआएको बताउने, बैंक स्टेटमेन्ट माग्दा नदिने लगायत भ्रामक जानकारी बैंकले दिएको भन्दै स्थानीयले आफ्नो गुनासो नगरपालिका समक्ष राखेका थिए। विरोध स्वरूप तालाबन्दी गरिएको गुजरा नगरपालिका पन्जीकरण शाखा प्रमुख मोहम्मद मेराज अहमदले बताउनुभयो ।
नगरपालिकामा रहेको बैंकले समयमा रकम वितरण नगरेको र यसले स्थानीय आक्रोशित भएको प्रमुख प्रशासकीय अधिकृत उदयप्रसाद देवकोटाले स्वीकार गर्नुभयो । आक्रोशित स्थानीयलाई सम्झाई बुझाईपछि ताल्चा खोली नगरपालिका प्रशासनिक काम पुनः सुचारु गरिएको छ ।
एनआइसी एशिया बैंक सिमरा भवानीपुर शाखाका प्रमुख मोहम्मद सादाव प्रवेजले बताए अनुसार, बैंकले आइतबारदेखि नगरपालिका क्षेत्रका साथै चन्द्रनिगाहपुर, निजगढ र कोल्भीबाट पनि सामाजिक सुरक्षा र बालपोषण भत्ता वितरण सुरु गर्ने योजना बनाएको छ ।
उनका अनुसार, करिब ८ हजार लाभग्राही बैंकमा रहेको र एकैपटक सबैलाई रकम वितरण गर्न नसकिने अवस्था रहेको छ ।