महोत्तरी । महोत्तरी जिल्लाको सोनमा गाउँपालिका–४ खेश्राहामा सोमबार करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय मोकदम राय रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रहरी निरीक्षक तथा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता नन्दकिशोर चौहानका अनुसार खेतमा पानी हाल्न विद्युतीय मोटरमा तार जोड्ने क्रममा एक्कासि करेन्ट प्रवाह भएर रायको घटनास्थलमै मृत्यु भएको हो । शवलाई पोस्टमार्टम तथा आवश्यक अनुसन्धानका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको उनले जानकारी दिए ।
असार र साउन महिनामा मात्र महोत्तरीमा करेन्ट लागेर दुई जनाको मृत्यु भइसकेको छ । असार २२ गते औरही नगरपालिका–७ भोइल टिमकीयामा कृषि सडकमा कल्भर्ट निर्माणका क्रममा ३२ वर्षीय मजदुर छटु मुखियाको बिजुलीको तार चुडिएर खस्दा करेन्ट लागी मृत्यु भएको थियो ।
यस्तै, गत हप्ता सम्सी गाउँपालिका–५ पोखरभिण्डामा १६ वर्षीय अमित यादवलाई आफ्नै खेतमा विद्युतीय मोटरमा तार जोड्ने क्रममा करेन्ट लागी गम्भीर घाइते भएका थिए । उपचारको क्रममा उनको पनि मृत्यु भएको थियो ।