सप्तरी | मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सङ्घीयता र स्थानीय तहको अवधारणाले देशमा विकासको सम्भावना बढाएको बताएका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवस २०२५ को अवसरमा ‘दिगो विकास र सुनौलो भविष्यको सार, स्थानीय युवाको सहभागिता समृद्धिको आधार’ मूल नाराका साथ सप्तरी युथले मङ्गलबार राजविराजमा आयोजना गरेको पाँचौं युवा सम्मेलनमा सिंहले यस्तो बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि सिंहले भने, “सङ्घीयता आएपछि हिलो जमेको गाउँमा सडक ढलान भएकाले बिरामीलाई अस्पतालसम्म सजिलै पुर्याउन सकिन्छ । पहिले दुई फिटसम्म हिलोले बिरामीलाई अस्पताल पुर्याउन समस्या थियो ।”
मधेश प्रदेशमा शिक्षाको अवस्था कमजोर हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री सिंहले विद्यालय व्यवस्थापन समितिको प्रभावकारितामा सुधार आवश्यक रहेको बताए । आफ्ना नातागोताका व्यक्तिलाई विद्यालयमा भर्ना गर्ने प्रवृत्तिले शिक्षाको गुणस्तर घट्ने भएकोले सरकारी र निजी विद्यालयले सुधारको पहल गर्नुपर्ने औंल्याए ।
साथै, युवाहरूमा लागुऔषध र कुलतप्रति चासो दिन भन्दै उनले आमाबुवाले देखेका सपनाहरू पूरा गर्न युवाहरूलाई आग्रह गरे ।
मधेश सरकारले स्किल स्कूलको अवधारणा ल्याउन लागेको उल्लेख गर्दै मुख्यमन्त्री सिंहले नौ र दस कक्षाका विद्यार्थीलाई यसमा सहभागी गराइने जानकारी दिए ।
सम्मेलन सप्तरी युथका अध्यक्ष श्रवणकुमार देवको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति सप्तरीका सभापति शिवनारायण साह, राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परवीन, रुपनी गाउँपालिका अध्यक्ष दिनेश कुमार यादव, तिरहुत गाउँपालिका अध्यक्ष विजयकुमार यादव, नेकपा एमालेका पोलिटब्यूरो सदस्य सुमनराज प्याकुरेल, प्रमुख जिल्ला अधिकारी भोला दाहाल लगायतले शुभकामना दिएका थिए ।
सम्मेलनमा जिल्लाका १८ वटै पालिकाबाट १०८ जना युवा सहभागी थिए र नयाँ कार्यसमिति पनि चयन गरिएको सप्तरी युथले जनाएको छ ।