रौतहट | मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रादेशिक अस्पतालहरु सुधारोन्मुख रहेको बताएका छन् । रौतहट सदरमुकाम गौरस्थित प्रादेशिक अस्पतालमा आयोजित मातृ–शिशु स्वास्थ्य क्लिनिक र चमेना गृह उद्घाटन कार्यक्रममा मुख्यमन्त्री सिंहले प्रदेश सरकारको निरन्तर प्रयासले अस्पतालका सेवामा सुधार हुँदै गएको बताउनुभयो ।
उहाँले सेवा सुधार हुँदा सेवाग्राहीको संख्या पनि बढेको तर्क गर्नुभयो । प्रादेशिक अस्पतालहरुको गुणस्तर कायम राख्न आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापनमा ध्यान दिइएको उहाँले बताउनुभयो।
मुख्यमन्त्री सिंहले सरकारी अस्पतालप्रति आम नागरिकको विश्वास बढाउन आवश्यक रहेको औँल्याउँदै न्यूनतम खर्चमा गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउने वातावरण निर्माण गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभयो । साथै, गौर प्रादेशिक अस्पतालमा नर्सिङ शिक्षा सुरु गर्ने पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
उहाँले निजिस्थरमा सञ्चालित अधिकांश अस्पताल अझै मापदण्ड विपरित रहेकाले, नेपाल सरकारले तोकेको मापदण्ड अनुसार अस्पताल सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो । स्थानीय तहले १५ शय्याको अस्पताल सञ्चालन गर्न अनुमति दिन सक्ने कानुनी प्रावधान रहेको र कानुनमा उल्लेखित मापदण्ड पूरा गर्ने अस्पताललाई मात्र अनुमति दिनुपर्ने बताउनुभयो ।
मधेश प्रदेशमा एम्बुलेन्समा व्यापक सेटिङ रहेको उहाँले जानकारी दिनुभयो । कर छुटमा भारतबाट ल्याइएका एम्बुलेन्स सेवा–मुखी नभएर व्यापार–मुखी बनेको र मापदण्ड विपरित सञ्चालनमा रहेको हुँदा निगरानी आवश्यक रहेको मुख्यमन्त्री सिंहले उल्लेख गर्नुभयो ।
भिडियाे सामाग्री