मधेश प्रदेशमा स्याहार–हेरचाह सेवालाई औपचारिकता प्रदान गर्ने उद्देश्यले “मधेश प्रदेशमा हेरचाह सेवा केन्द्रको आवश्यकता र अवसरहरूको नक्सांकन र पहिचान” शीर्षकमा विशेष कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले हेरचाह क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले महानगरपालिकाले विभिन्न नीति तयार गरेको जानकारी दिनुभयो । उहाँले स्याहार अर्थतन्त्रको अवधारणा नयाँ भए पनि प्रस्तुतिका क्रममा देखिएझैँ महानगरपालिकाले लक्षित कार्यक्रमहरू धेरै गर्दै आएको बताउँदै, महिला तथा युवाहरुलाई आफ्नै माटोप्रति अपनत्वबोध गराउने कार्यक्रमहरूको आवश्यकता रहेकोमा जोड दिनुभयो ।
राष्ट्रिय योजना आयोग अन्तर्गत गठित राष्ट्रिय स्याहार कार्यसमूहकी सदस्य रोशनीदेवी कार्कीले सामाजिक रूपान्तरणसँगै आर्थिक सशक्तिकरण हुन आवश्यक रहेको बताउनुभयो । साथै, अनौपचारिक स्याहार कार्यलाई आर्थिक गणनामा समेट्न सबै क्षेत्रबाट अनुगमन र नियमन आवश्यक रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा सहभागीहरूले मधेशको आर्थिक पुनरुत्थानको परिकल्पना गर्न समुदाय तथा प्रतिष्ठानमा स्याहार केन्द्र स्थापना आवश्यक रहेको उल्लेख गरे । घर–घरमा महिलाले मात्र नभई पुरुषले पनि गर्ने स्याहार कार्यको योगदानको मूल्यांकन गर्नुपर्ने र स्याहार केन्द्रलाई सामाजिक तथा आर्थिक पूर्वाधारको रूपमा दीर्घकालीन सञ्चालन गर्न निजी क्षेत्रको संलग्नता अपरिहार्य हुने उनीहरूको भनाइ थियो ।
उनीहरूले स्याहार भूमिकामा महिलालाई मात्र सीमित गर्नुले उनीहरूको आर्थिक सहभागिता कमजोर हुने र यसले देशको समग्र समृद्धिमा अवरोध पुर्याउने धारणा पनि राखे । महिलालाई श्रम बजारमा सक्रिय बनाउन स्याहार सेवाको सहज पहुँच अत्यावश्यक हुने सहभागीहरूको निष्कर्ष थियो ।
अन्तर्राष्ट्रिय श्रम संगठनको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल ट्रेड यूनियन महासंघ (केन्द्र) र महासंघ मधेश प्रदेशद्वारा संयुक्त रूपमा सञ्चालित “सशक्त महिला, समृद्ध नेपाल” कार्यक्रम अन्तर्गत प्रदेशस्तरीय यस छलफलमा त्रिपक्षीय सहभागिता रह्यो । स्याहारका विषयमा गरिएको नक्सांकनमा स्थानीय तहहरूको डिजिटल माध्यमबाट प्रत्यक्ष सहभागिता भएको थियो ।
कार्यक्रममा अर्जुन खरेल र कृपा बस्न्यातले स्याहार नक्सांकन तथा आवश्यकताबारे अध्ययनपत्र प्रस्तुत गर्नुभयो भने झलकुमारी कार्कीले प्रतिष्ठानहरूमा स्याहारको आवश्यकता सम्बन्धी सुझाव संकलन गर्नुभयो ।
सहभागीहरूको स्वागत महासंघका सहायक निर्देशक हरि पौडेलले गर्नुभयो। सहजीकरण महासंघ मधेश प्रदेशका प्रदेश कार्यक्रम संयोजक बसुदेबलाल कर्णले गर्नुभएको थियो । कार्यक्रम महासंघका प्रदेश कोषाध्यक्ष पण्डित प्रसाद जैसवालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
भिडियाे सामाग्री