नेपाल बार एशोसिएशन जनकपुरका अध्यक्ष बिमल कुमार मिश्र नेतृत्वको वकिल समूहले पत्रकारमाथि गरेको भौतिक आक्रमणको घटनापछि नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले अनुसन्धानका लागि मिसन टोली गठन गरेको छ ।
महासंघले लेखा समिति संयोजक के.सी. लामिछानेको संयोजकत्वमा केन्द्रीय मिसन टाेली गठन गरेकाे हाे । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले कार्यालय भवन निर्माणका लागि कानूनी प्रक्रिया पूरा गरी प्राप्त गरेको धनुषास्थित जनकपुरधामको जग्गा संरक्षणका क्रममा साउन २७ गते मिश्र नेतृत्वको वकिल समूहले पत्रकारमाथि आक्रमण गरेको थियो । महासंघका महासचिव रामप्रसाद दाहालका अनुसार जग्गा कब्जा गर्ने प्रयासस्वरूप गरिएको हुलदंगामा प्रदेश महासचिवकाे खुट्टा समेत ताेडिएकाे छ ।
घटनाको अध्ययन गरी प्रतिवेदन पेश गर्ने उद्देश्यले केन्द्रीय लेखा समिति संयोजक के.सी. लामिछानेको संयोजकत्वमा केन्द्रीय सदस्य राजेशकुमार कर्ण र राजु विश्वकर्मा सदस्य रहेको तीन सदस्यीय मिसन टोली गठन गरिएको छ ।मिसन टोलीले सम्बन्धित सबै पक्षसँग छलफल र परामर्श गरी यथाशीघ्र प्रतिवेदन पेस गर्नेछ । सो प्रतिवेदनका आधारमा महासंघले आवश्यक कदम चाल्ने महासचिव दाहालले जनाएका छन् ।
आक्रमणका क्रममा महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष ज्योती झा, महासचिव शैलेन्द्र क्रान्ति, पत्रकार दिवाकर राय, विनिता यादवसहितका व्यक्तिहरू घाइते भएका छन् ।
भिडियाे सामाग्री