जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले स्वास्थ्य क्षेत्रमा देखिएका विकृतिहरु अन्त्य गर्न सरोकारवालाको सक्रिय सहभागिता आवश्यक भएको बताउनुभएको छ ।
बिहिबारदेखि जनकपुरधाममा सञ्चालनमा आएको आरोग्य निकेतन अस्पतालको उद्घाटन गर्दै उहाँले विगतमा सञ्चालन गरेको अस्पताल अनुगमन अभियानको क्रममा प्रदेशका केही अस्पतालमा विभिन्न खालका विकृतिहरु देखिएको र तिनको अन्त्यका लागि सबैको निगरानी आवश्यक रहेको बताउनुभयो ।
मुख्यमन्त्री सिंहले मापदण्डविपरीत सञ्चालन भएका धेरै अस्पताल प्रदेश सरकारले बन्द गराएको र एम्बुलेन्सका ड्राइभरहरूले अस्पताल खोलेर दिनदहाडै नागरिकलाई लुट्ने गरेको दाबी गर्दै यस्तो गतिविधिमा संलग्न जोकोहीलाई कारबाहीमा ल्याइने स्पष्ट पार्नुभयो ।
उहाँले अस्पताल खोल्दा व्यवस्थापकीय पक्षलाई ध्यान दिनुपर्ने र जनकपुरधामका केही अस्पताल हालै विमार अवस्थामा रहेको उल्लेख गर्नुभयो । साथै खानपानका कारण मुटु रोगीको संख्या बढिरहेको हुँदा नयाँ आरोग्य निकेतन अस्पतालले मुटु रोगसम्बन्धी सेवा उपलब्ध गराउने हुँदा नागरिकका लागि उपचार सहज हुने बताए ।
मुख्यमन्त्री सिंहले गरिब र विपन्नका लागि छुट्याइएको १० प्रतिशत बेडको व्यवस्थाको सही प्रयोगको आवश्यकता औंल्याउँदै, सो सुविधा केवल लक्षित वर्गले नै लिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमको अध्यक्षता गर्दै आरोग्य निकेतन अस्पतालका अध्यक्ष डा. गोराङ्ग मिश्राले नागरिकलाई सन्तुष्ट हुने किसिमले सेवा प्रवाह हुनेमा आफू पूर्ण विश्वस्त रहेको बताए । उहाँले अस्पतालले सेवा प्रवाहमा समयानुसारको प्रविधि अपनाउने उल्लेख पनि गर्नुभयो ।
कार्यक्रममा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालवावु राउत, वरिष्ठ चिकित्सक डा. विजय कुमार सिंह, डा. अमित सिंह, जनकपुरधाम उपमहानगरपालिकाका पूर्व नगरप्रमुख व्रिखेस चन्द्र लाल, बजरंग साह, समाजसेवी असगर अली लगायतको उपस्थिति थियो ।
भिडियाे सामाग्री