जनकपुरधाम | मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले नागरिकलाई विपद्बाट जोगाउन सबै पक्षले साझा दायित्व निर्वाह गर्नुपर्ने बताएका छन् ।
गृह, सञ्चार तथा कानुन मन्त्रालय, मधेश प्रदेशले बिहीबार जनकपुरधाममा आयोजना गरेको विपद् (सुख्खा) संकटग्रस्त प्रतिकार्य कार्ययोजना तर्जुमा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखीले हाल परेको वर्षाका कारण तत्कालका लागि खानेपानी र सिँचाइ समस्या केही समाधान भए पनि भविष्यमा पुनः यस्तै समस्या आउन सक्ने चेतावनी दिए ।
उनले विपद् व्यवस्थापनमा विकास साझेदार संघ–संस्थाले दिएको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा व्यक्त गरे। “कतिपय काम हामी आफ्नै स्रोतबाट गर्न सक्छौँ, तर दायित्व छाडेर अरुको भर पर्न थालेका कारण धेरैजसो समस्या देखा पर्छन्,” मन्त्री लेखीले भने ।
मन्त्री लेखीका अनुसार नहर तथा कुलोको सरसफाइजस्ता कार्य स्थानीय स्रोत–साधनबाट नै गर्नुपर्ने हो, तर समाजले यस्ता कामका लागि पनि सरकारको सहयोगको आशा गर्न थालेको छ ।
कार्यक्रममा अन्य वक्ताले भूमिगत पानी निरन्तर निकालिए पनि पानी पुनर्भरणको काम नगरेसम्म दीर्घकालीन समाधान सम्भव नहुने बताएका थिए। उनीहरूले विशेष गरी चुरे–भावर क्षेत्रमा पानी पुनर्भरणको परियोजना तत्काल सुरु गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा मन्त्रालयका सचिव विमलप्रसाद बरालले विभिन्न चार क्लस्टरले तयार पारेको प्रतिकार्य कार्ययोजनामाथि छलफल गर्दै सुझाव संकलन गरेका थिए ।
भिडियाे सामाग्री