पर्सा | पर्सामा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी एक हजार ६८९ उजुरी मेलमिलापमार्फत टुंगिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार जिल्लाभरमा साहुकार र पीडितबीच दुई हजार ३५८ उजुरी परेका थिए । तीमध्ये चालु आर्थिक वर्षको साउन २८ गतेसम्म ६३७ उजुरी अझै फर्छ्यौट हुन बाँकी छन् ।
उनका अनुसार यसअघि जिल्ला प्रशासन कार्यालयमा एक हजार ७२९ मिटरब्याजसम्बन्धी उजुरी दर्ता भएका थिए भने प्रहरी कार्यालयमा छुट्टै ६२९ उजुरी आएका थिए । “जिल्ला प्रशासनले २२० उजुरी मेलमिलापमार्फत टुंग्याएको छ भने प्रहरीले एक हजार ४६७ उजुरी टुंग्याएको छ,” लम्सालले बताए ।
जिल्लामा मिटरब्याजसम्बन्धी ३२ मुद्दा अदालतमा दर्ता भएका छन्। सोही मुद्दामा १५ पुरुष र २ महिला गरी १७ जना पक्राउ परेका छन् । मेलमिलाप प्रक्रियाबाट फिर्ता भएको बिगो २८ करोड ५९ लाख ५५ हजार ५५७ रुपैयाँ रहेको छ। साथै, ४० बिघा १५ कट्ठा १९ धुर जग्गा समेत पीडितलाई फिर्ता दिलाइएको प्रहरीले जनाएको छ ।
सूचना अधिकारी लम्सालका अनुसार, हाल अनुचित लेनदेनसम्बन्धी उजुरीलाई प्राथमिकताका साथ टुंग्याउने कार्य भइरहेको छ । अघिल्ला वर्षमा यस्तो उजुरी जिल्ला प्रशासन कार्यालयले मात्र लिँदै आएकोमा अहिले जिल्ला प्रहरी कार्यालयमार्फत पनि टुंग्याइँदै आएको छ ।
उनले पछिल्लो समय मिटरब्याज पीडकहरूले अदालतबाट पक्राउ पुर्जीविरुद्धको निषेधाज्ञा लिएर बस्ने प्रवृत्ति बढेकाले पक्राउ गर्न कठिनाइ हुने गरेको बताए । पर्सा प्रहरीले २०८१ साल फागुन १ गतेदेखि मिटरब्याजसम्बन्धी उजुरी दर्ता गर्न थालेको हो ।
भिडियाे सामाग्री