महोत्तरी | प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरी जिल्लाको सोनमा गाउँपालिका–३ रघुनाथपुरमा निर्माण हुन लागेको सडकको शिलान्यास गर्नुभएको छ । शुक्रबार दिउँसो हेलिकप्टरमार्फत जनकपुर हुँदै रघुनाथपुर पुगेका प्रधानमन्त्री ओलीले स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत रघुनाथपुर बजारदेखि सोनमा–तराहरी–सुन्दरपुर खण्डको सडक निर्माणको शिलान्यास गर्नुभयो ।
मधेश प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको साझेदारी तथा विश्व बैंकको ऋण सहयोगमा निर्माण हुने सो सडक एक करोड रुपियाँको लागतमा निर्माण हुने भएको हो । हुलाकी सडकअन्तर्गत पर्ने रघुनाथपुर बजारदेखि तराहरी हुँदै सुन्दरपुरसम्म करिब ८.३८४ किलोमिटरको सडक कालोपत्रे गरिनेछ ।
मधेश प्रदेश सरकारले प्रादेशिक तथा स्थानीय सडक सुधार योजनाअन्तर्गत प्रदेशका २१ स्थानीय तहका केन्द्रहरूलाई पक्की सडक सञ्जालसँग जोड्ने कार्यक्रम अघि सारेको छ । विश्व बैंकको ऋण सहयोगमा निर्माण हुने यस परियोजनाको कुल बजेट ३४ करोड ६९ लाख ५० हजार ६१६ रुपियाँ रहेको र २०८३ चैत ११ गतेभित्र सम्पन्न गर्ने योजना छ ।
स्थानीय युवा धर्वेन्द्रकुमार यादवका अनुसार, यो सडक निर्माणबाट सोनमा गाउँपालिका–२, ३ र ७ का बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् । सडक बनेपछि जिल्लाको सदरमुकामसम्मको दूरी छोटो हुने र कृषिजन्य सामग्रीसहित दैनिक आवत–जावत सहज हुने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री ओली साउन महिनामा दोस्रो पटक महोत्तरी आएका हुन् । यसअघि साउन ९ गते उहाँले मटिहानीमा बिग्ही नदीमा बनेको पुल तथा प्रसूति गृह, साथै रौजामा रातो नदीमा निर्माण गरिएको पुलको उद्घाटन गर्नुभएको थियो ।
भिडियाे सामाग्री