भारतको मुम्बईमा भएको सडक दुर्घटनामा परि बाराका एक युवकको मृत्यु भएको छ । आदर्श कोतवाल गाउँपालिका–४ कोईलिडीहका ३० वर्षीय राधेश्याम पटेलको दुर्घटनामा ज्यान गएको हो ।
रोजगारीका सिलसिलामा आठ महिना अघि मुम्बई गएका पटेल त्यहाँको बेग कम्पनीमा कार्यरत थिए । कम्पनीबाट डेरा फर्किने क्रममा सडक पार गर्ने क्रममा सानो कारको ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्काल अस्पताल पुर्याइए पनि उपचारकै क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
मृतकका पिता महेन्द्र राउत कुर्मीले आर्थिक अभावका कारण छोरा विदेश जान बाध्य भएको बताएका छन् । पटेलको एक छोरा र एक छोरी रहेका छन् भने पत्नी अहिले आघातका कारण अस्वस्थ अवस्थामा छिन् ।
दुर्घटनापछि पूरै कोईलिडीह गाउँ शोकमा डुबेको छ । स्थानीयका अनुसार पटेल परिवारको प्रमुख सहारा थिए र घरको आर्थिक अवस्था पनि कमजोर छ । उनको शव आज राति ११ बजे विमानमार्फत भारतको पटना ल्याइने र त्यहाँबाट एम्बुलेन्समार्फत भोलिसम्म नेपाल ल्याउने तयारी भएको परिवारले जनाएको छ ।