सिरहा । प्रादेशिक अस्पताल सिरहामा डायलाइसिस सेवा लिन बिरामीको चाप अत्याधिक बढेको छ । अस्पतालले विगत तीन वर्षदेखि सो सेवा सञ्चालन गर्दै आएको छ। बिरामीको चाप बढेसँगै सेवा विस्तारका लागि स्रोत साधनको अभाव देखिएको छ ।
अस्पतालमा हाल १० डायलाइसिस उपकरणमार्फत सेवा दिइँदै आएको छ । अस्पताल प्रमुख डा. सुनिलप्रसाद कुशवाहाका अनुसार दैनिक १० जना बिरामीले सेवा लिइरहेका भए तापनि अन्य कम्तीमा २० जना बिरामी दैनिक पालोको पर्खाइमा हुन्छन् ।
डा. कुशवाहाका अनुसार, “मिर्गौला प्रत्यारोपण सम्भव नभएको अवस्थामा डायलाइसिस नै एकमात्र अस्थायी समाधान हो । तर बिरामीको चापले गर्दा उपचारका क्रममा कोही बिरामीको मृत्यु भएपछि मात्र नयाँ बिरामीलाई पालो मिल्ने अवस्था छ ।”
सिरहा अस्पतालले निःशुल्क डायलाइसिस सेवा प्रदान गर्दै आएको छ । निजी अस्पताल वा अन्य स्वास्थ्य संस्थामा एक सत्रको डायलाइसिस सेवा करिब ७ हजार रुपैयाँसम्म पर्न सक्ने हुँदा, आर्थिक रूपमा कमजोर बिरामीका लागि सिरहा अस्पताल भरोसाको केन्द्र बनेको छ ।
यद्यपि सेवा प्रभावकारी भए पनि अस्पतालले ९८ प्रकारका आवश्यक औषधि, रगत अभाव र उपकरणको कमी भोगिरहेको छ । डा. कुशवाहाका अनुसार मधेस प्रदेश सरकारले करोडौँ मूल्यका उपकरण उपलब्ध गराए पनि अझै डायलाइसिस सेवा सुदृढ गर्न पर्याप्त उपकरणको आवश्यकता रहेको छ ।
अस्पताल प्रशासनले हालको उपकरण सङ्ख्या बिरामीको सङ्ख्याको तुलनामा अपर्याप्त रहेको र बिरामीलाई सेवा दिन थप उपकरण, जनशक्ति र औषधि आपूर्ति आवश्यक रहेको जनाएको छ ।
भिडियाे सामाग्री