सप्तरी । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–२ चाँदनी चौकमा पानीमा डुबेर एक वृद्ध महिलाको मृत्यु भएको छ ।
स्थानीय सीतापुर गाउँकी ७२ वर्षीया सजनी सदा खेतमा खनेको खाल्डोमा डुबेर मृत फेला परेकी हुन् । जर्मन पोखरी नजिकै पश्चिमतर्फ राजेन्द्र साहको खेतमा खनेको खाल्डोमा जमेको पानीमा उनी डुबेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्ले नेतृत्वको टोली घटनास्थल पुग्दा सदा पानीमा डुबेको अवस्थामा मृत फेला परेकी थिइन् ।
स्थानीय वडाध्यक्ष पशुपतिप्रसाद चौधरीका अनुसार मृतक सदा प्रायः जर्मन पोखरी र नजिकै रहेका खेतका खाल्डाखुल्डीमा घोङ्गी टिप्ने गर्थिन् । सोही क्रममा पानीमा डुबेर उनको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।
प्रहरीका अनुसार कानुनी प्रक्रिया पूरा गरी मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
भिडियाे सामाग्री