काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध गौर हत्याकाण्डमा अनुसन्धान अघि बढाउन आदेश दिएको छ ।
न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार जिल्ला प्रहरी कार्यालय रौतहटलाई गौर घटनामा यादवमाथि अनुसन्धान प्रक्रिया अघि बढाउन परमादेश जारी गरेको हो ।
राज्यले वर्षौँ बितिसक्दा पनि दोषीमाथि अनुसन्धान नगरेको भन्दै पीडित परिवारका तर्फबाट त्रिभुवन साहले गत २०८० जेठ २१ गते सर्वोच्चमा रिट दायर गरेका थिए। सो रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले १९ वर्षपछि यादवमाथि अनुसन्धानको बाटो खोलेको हो ।
रिटमा जिल्ला प्रहरी कार्यालय रौतहट गौर र जिल्ला सरकारी वकिल कार्यालय रौतहट गौरलाई विपक्षी बनाइएको थियो ।
२०६३ साल चैत ७ गते रौतहटको सदरमुकाम गौरस्थित राईसमिल चौरमा तत्कालीन मधेशी जनअधिकार फोरम र तत्कालीन नेकपा (माओवादी) ले एउटै स्थानमा सभा गर्न लाग्दा झडप भएको थियो । झडपमा परी २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो भने ५० भन्दा बढी घाइते भएका थिए ।
त्यस समय यादव मधेशी जनअधिकार फोरमका अध्यक्ष थिए। उक्त घटना पूर्वनियोजित र संगठित रहेको ठहर राष्ट्रिय मानवअधिकार आयोगको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
पीडित पक्षले घटनाको प्रमुख योजनाकारको रुपमा यादवविरुद्ध पनि कानुनी कारबाही हुनुपर्ने माग गर्दै आएका छन्। सर्वोच्चको आदेशसँगै अब प्रहरीले यादवविरुद्ध अनुसन्धान अघि बढाउनेछ ।
भिडियाे सामाग्री