जनकपुरधाम । नेपाल पत्रकार महासंघ, मधेश प्रदेशले गुठी संस्थानबाट लिजमा लिएको जग्गामा नेपाल बार एशोसिएसन जनकपुरले दाबी गर्दै अवरोध सिर्जना गरेको विषयमा जनकपुरधाम उपमहानगरपालिका मेयर मनोज कुमार साहले कडा आपत्ति जनाएका छन् ।
पत्रकार महासंघको टोलीसँग भेटघाट गर्दै मेयर साहले बार एशोसिएसनको दाबीलाई अनुचित र अन्यायपूर्ण बताएका छन् । उनका अनुसार पत्रकार महासंघले सर्वसम्मत कानुनी प्रक्रिया पूरा गरी गुठी संस्थानसँग २० वर्षका लागि जग्गा लिजमा लिएको हो ।
“बार एशोसिएसनसँग आफ्नै भवन हुँदाहुँदै पत्रकार महासंघले लिजमा पाएको जग्गामा अवरोध गर्नु कुनै हिसाबले न्यायसंगत छैन,” मेयर साहले भने ।
उनले बार एशोसिएसनले माटो भरेको दाबीलाई समेत असत्य ठहर गर्दै, उक्त क्षेत्रमा गंगासागरस्थित रामनारायण मिश्र स्मारक समितिको भवन निर्माणका क्रममा मात्र निर्माण व्यवसायीहरूले माटो भण्डारण गरेको स्पष्ट पारे ।
यस्ता गतिविधिले समाजमा अधिवक्ताको छविमा नकारात्मक प्रभाव पारेको र न्याय सम्पादन गर्ने पेसाप्रतिकै विश्वासमा प्रश्न उठाएको मेयर साहले बताएका छन् । उनले वार्ता र संवादमार्फत समाधान खोज्नुपर्नेमा जोड दिँदै दोषीमाथि कारबाही हुनुपर्ने आग्रह गरे ।
भेटमा पत्रकार महासंघ, मधेश प्रदेशका अध्यक्ष श्यामप्रसाद बन्जारा, उपाध्यक्ष ज्योति झा, सचिव हदीस खुदार, सदस्य नवीन मिश्र, नवीन सिंह, प्रतिभा झा, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरण साह, उपाध्यक्ष अवधेश कामत, वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी रामभरत साह, प्रेस चौतारीका केन्द्रीय सदस्य इन्दिप कोइराला, प्रेस युनियनका केन्द्रीय सचिव अजित तिवारीलगायतको उपस्थिति थियो ।
भिडियाे सामाग्री