वीरगंज । पर्साको जगरनाथपुर र जीराभवानी गाउँपालिकाले वीरगंजको नारायणी अस्पतालमा ६ थान वातानुकूलित एसी प्रदान गरेका छन् । जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव र जीराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीले प्रत्येकले ३–३ थान एसी हस्तान्तरण गरेका हुन् ।
मंगलबार अध्यक्ष यादव र चौधरीले अस्पताल पुगेर एलजी कम्पनीको एसी अस्पतालका मेसु डा. चुमनलाल दासलाई हस्तान्तरण गरेका हुन्, जानकारी अस्पताल विकास समितिका अध्यक्ष धिरजकुमार गुप्ताले दिनुभयो ।
यसअघि सोमबार पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग अस्पतालको निरीक्षण गर्ने क्रममा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष यादवले मेडिकल वार्डमा वातानुकूलित एसी जडान गर्ने प्रतिबद्धता जनाएका थिए ।
मेडिकल वार्डमा केवल पंखा रहेकोले भर्ना भएका बिरामीलाई गर्मीका कारण असुविधा भइरहेको पाइएको थियो । त्यसैले अध्यक्ष यादवले भोलिपल्टै ६ थान एसी सहयोग गरेको जानकारी अध्यक्ष गुप्ताले दिनुभयो ।
त्यसैगरी, अध्यक्ष यादवको आग्रहमा सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले थप ३ थान एसी उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् र ती एसी १–२ दिनमै अस्पतालमा आइपुग्ने जनाइएको छ ।
प्राप्त ६ थान एसी मेडिकल वार्डमा जडान गरिनेछ। ४० शैयाको मेडिकल वार्डमा एसी जडान भएपछि उपचाररत बिरामीको सहजता बढ्ने विश्वास गरिएको छ ।
भिडियाे सामाग्री