काठमाडौं । प्रमुख प्रतिपक्षी दलसहितका विपक्षी दलहरूले बहुमतको आधारमा उपसभामुख इन्दिरा रानामगरलाई हटाउने प्रयास देशलाई एकात्मक शासनतर्फ लैजाने भन्दै सरकारलाई चेतावनी दिएका छन् ।
सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकमा सहभागी नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवले उपसभामुखलाई हटाए सडकदेखि सदनसम्म सबै विपक्षी दल एक भएर प्रतिवाद गर्ने निर्णय भएको जानकारी दिएका छन् ।
‘उपसभामुखलाई बिना कारण, बिना प्रमाण, बिना आधार यसरी सत्ता पक्षले बहुमतको आधारमा अभियोग लगाउँदा देशमा कुशासन सुरु हुन्छ,’ बैठकको निष्कर्ष सुनाउँदै यादवले भने, ‘यस्तो काम सरकारले नगरोस् ।’
उनले थपे, ‘यसले देश एकतात्मक शासनतिर धकेल्छ। यस्ता काममा सरकार नलागोस् ।’
यादवका अनुसार उपसभामुखविरुद्ध कुनै ठोस प्रमाण नभएकाले बिना प्रमाण हटाउने काम गरे विपक्षी दलहरूले संयुक्त प्रतिवाद गर्नेछन् । ‘सबै प्रतिपक्षी दल यस विषयमा एकमत भएका छन्। सदनदेखि सडकसम्म जाने स्थिति आउन सक्छ,’ उनले भने ।
उनले उपसभामुख इन्दिरा रानामगर राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरसम्म प्रतिष्ठा कमाएको भन्दै प्रमाणबिनै हटाउने काम गलत हुने बताए ।
माओवादी संसदीय दलको कार्यालयमा बसेको बैठकमा माओवादी केन्द्रबाट प्रचण्ड, नारायणकाजी श्रेष्ठ र हितराज पाण्डे, रास्वपाबाट डोलप्रसाद अर्याल र सन्तोष परियार, राप्रपाबाट बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान, एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र शेरबहादुर कुवँर, आम जनता पार्टीबाट प्रभु साह र नेपाल समाजवादी पार्टीबाट महेन्द्र राय यादव सहभागी रहेका थिए ।
भिडियाे सामाग्री